काठमाण्डौ । जेनजी आन्दोलन उग्र बन्दै जाँदा हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले यो तथ्यांक सार्वजनिक गरेका हुन्।
उनका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन्।
भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध युवाहरू सडकमा उत्रिएपछि आन्दोलन सुरु भएको थियो। त्यस क्रममा विभिन्न स्थानमा भएको झडप र आगजनीले ठूलो जनधनको क्षति गरेको अधिकारीहरूले जनाएका छन्।
मृतकहरूको सबै पहिचान अझै नभएको र जलेका स्थान सफाइ गर्दा शवहरू भेटिइरहेको प्रहरीको भनाइ छ। आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव फेला परेका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                