काठमाण्डौ । नवगठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। ९९ वर्षीय कानुनविद् कृष्णप्रसाद भण्डारीकी छोरी सबिता, नेपालको इतिहासमै प्रथम महिला महान्यायाधिवक्ता बन्ने गौरव हासिल गरेकी हुन्।
यो नियुक्ति पूर्व महान्यायाधिवक्ता केशव बडालको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेपछि भएको हो।
प्रधानमन्त्री कार्की, जसलाई हालैको जेन–जी आन्दोलनको दबाबबीच अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी दिइएको हो, मन्त्रिपरिषद् गठनमा पनि सक्रिय देखिएकी छन्। उनले आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीसहित विभिन्न व्यक्तिहरूसँग निरन्तर छलफल गरिरहेकी छन्।
नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीले पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरिएको छ। साथै आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा भइसकेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                