काठमाण्डौ । जेनजी आन्दोलनमा शहीद भएका नागरिकको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ। यस क्रममा सरकारी भवन र कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हाले लगत्तै उक्त घोषणा गरेका हुन्। उनले शोक दिवस कुन दिन मनाउने भन्ने विषय मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए।
त्यसैगरी, आन्दोलनमा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई किरिया खर्च स्वरूप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरिएको छ। शव व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र दुर्गम स्थानमा आवश्यक परे हेलिकप्टरमार्फत शव पुर्याउने व्यवस्था गर्ने निर्णय गृह मन्त्रालयले जनाएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                