काठमाण्डौ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाउने नागरिकका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र थप ५ लाख रुपैयाँ अन्य खर्चका लागि उपलब्ध गराइनेछ। उक्त रकम अर्थ मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने व्यवस्था मिलाइने उनले बताए।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ। मृत्यु भएकाहरूको शव सम्बन्धित स्थानमा पुर्याउन सवारीसाधन उपलब्ध गराइनेछ भने दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत शव पुर्याइने व्यवस्था गरिने मन्त्री अर्यालले जानकारी दिए। दाहसंस्कारमा समेत सरकारले सहयोग गर्ने उनले स्पष्ट पारे।
गत भदौ १४ र २३ मा भएको जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको ज्यान गएको थियो भने २ हजार ३१६ जना घाइते भएका थिए। तीमध्ये २८३ जना हाल विभिन्न अस्पतालमा उपचाररत छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                