काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात २७.१७ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ६६०.८७ डलरमा कारोबार भईरहेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले एक चौथाई प्रतिशत विन्दुले ब्याजदर घटाउने घोषणा गरेसँगै सुनको मूल्य ओरालो लागेको हो ।
बुधबार फेडले अपेक्षाअनुरुप २५ बेसिक प्वइनटले ब्याजदर घटाउने निर्णय गरेको छ ।
फेडको उक्त निर्णयसँगै डलर बलियो बन्नु साथै ट्रेजरीको रेट समेत बढेको छ । डलर इन्डेक्स ०.२ प्रतिशतले बढेको छ । जसका कारण अन्य मुद्राधारकहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ । सोही कारण मागमा गिरावट आउदा सुनको भाउ समेत घट्न पुगेको छ ।
यद्यपी यो वर्ष सुनको मूल्य ३९ प्रतिशतले वृद्धि भईसकेको छ । सन् २०२४ मा भने सुनको भाउ २७ प्रतिशतले बढेको थियो ।
आज चाँदीको मुल्यमा समेत गिरावट आएको छ । चाँदी आज १.०६ डलरले घट्दै ४१.५२ डलरमा कारोबार भईरहेको छ ।