काठमाण्डौ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक हटाएको छ । यस आदेशमा मानवअधिकार र यौन उत्पीडन जस्ता विषयको अध्ययनमा पनि रोक लगाइएको छ ।
तालिबानले ६८० पुस्तकमाथि प्रतिबन्ध लगाएको छ । तीमध्ये करिब १४० पुस्तक महिलाले लेखेका छन् जसमा ‘सेफ्टी इन द केमिकल ल्याबोरेटरी’ जस्ता पुस्तक पनि पर्छन् । तालिबानले यी पुस्तकहरू आफ्नो नीति र शरियाविरुद्ध रहेको बताएको छ।
तालिबान अधिकारीहरूले यी विषयहरू ‘शरियाको सिद्धान्त र प्रणालीको नीतिसँग मेल नखाने भन्दै विश्वविद्यालयहरूलाई अब १८ विषयहरू नपढाउन आदेश दिइएको बताएका छन् । यो आदेश विगत चार वर्षमा तालिबानले लगाएको प्रतिबन्धको शृङ्खलामा अर्को कदम हो।
यस हप्ता, तालिबानका सर्वोच्च नेताको आदेशमा कम्तिमा १० प्रान्तमा फाइबर अप्टिक इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ। यसको उद्देश्य अनैतिकता रोक्नु रहेको अधिकारीहरुले बताएका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                