काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण (नेपा) ले लामो समयदेखि रोकिएको २४ वटा सौर्य आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ। नयाँ कार्यकारी निर्देशक मनोज सिलवालको निर्णयसँगै करिब ३५५ मेगावाट बराबरको विद्युत प्रणालीमा थपिने भएको छ।
यो प्रक्रिया पूर्व–प्रमुख कुलमान घिसिङको कार्यकालमै अन्तिम चरणमा पुगे पनि हितेन्द्रदेव शाक्यले रोकेका थिए। उनले एक व्यवसायीका आठ आयोजना मात्र स्वीकृत गरी बाँकी सम्झौता अड्काएको भन्दै आलोचना भएको थियो। त्यतिबेला तत्कालीन ऊर्जामन्त्री दीपक खड्कासँगको मतभेदले पनि काम अघि बढ्न सकेको थिएन।
स्वीकृति पाएपछि अब आयोजनाहरू वित्तीय स्रोत जुटाउन र निर्माण चरणतर्फ अघि बढ्न सक्षम हुनेछन्। विद्युत व्यापार विभागले आधार मूल्य प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा तोकेर प्रतिस्पर्धा गराएकोमा कम दर प्रस्ताव गर्ने कम्पनीहरू छनोट भएका हुन्।
हालैको मन्त्रिपरिषद् निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ भने प्राधिकरणको नेतृत्व मनोज सिलवालले सम्हालेका छन्। घिसिङ पुनः ऊर्जामन्त्री बनेसँगै अड्किएका योजना गति पाउने अपेक्षा गरिएको छ।