काठमाण्डौ । मनसुन सक्रिय हुँदै जाँदा जोखिम बढ्ने भन्दै बीपी राजमार्गमा असोज १६ गतेदेखि २१ गतेसम्म राति सवारी सञ्चालन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार यस अवधिमा प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालन गर्न दिइने छैन। अत्यावश्यक सेवामा प्रयोग हुने एम्बुलेन्स तथा सरकारी सवारी भने सञ्चालनमा रहनेछन्।
जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनका अनुसार रोशी खोला वा अन्य खहरे खोलामा पानी बढ्दा दिनको समयमा पनि सवारी रोकिन सक्नेछ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै यात्रु तथा सर्वसाधारणलाई अत्यावश्यक नभएर बाहिर ननिस्कन, विशेषगरी राति टाढाको यात्रा नगर्न र पहिरो सम्भावित क्षेत्र तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षाले बीपी राजमार्गका धेरै स्थान क्षतविक्षत बनाएको थियो। त्यस्ता क्षतिग्रस्त स्थान अझै पुनर्निर्माण पुरा नभएकाले यसपालि पनि क्षतिको सम्भावना उच्च रहेको सरोकारवालाले बताएका छन्।
यसैबीच, सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनाले आपत्कालीन अवस्थामा तुरुन्त प्रयोग गर्न मिल्ने गरी डोजर, एस्काभेटर, लोडरलगायतका मेसिन तयारी अवस्थामा राख्ने निर्णय गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।