काठमाण्डौ । निरन्तर वर्षाले जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सूचना जारी गर्दै आज (शनिबार)देखि तीन दिनका लागि लामो दूरीका तथा काठमाडौं उपत्यकामा आवत–जावत गर्ने सबै सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
प्राधिकरणले असोज १८ गतेदेखि २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका बस तथा काठमाडौं उपत्यका भित्रिने–निस्कने सवारी साधन अस्थायी रूपमा बन्द रहने जानकारी दिएको हो।
प्राधिकरणको सूचनामा भनिएको छ:-"सवारीसाधन आवागमनमा गरिएको अस्थायी रोकका कारण यात्रु महानुभावहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगरी सुरक्षित तरिकाले घरमै बस्न आग्रह गर्दछौं। साथै विपद् सम्बन्धी सबै अद्यावधिक जानकारी आधिकारिक स्रोत जस्तै रेडियो, टेलिभिजन, अनलाइन माध्यम र सामाजिक सञ्जालमार्फत नियमित रूपमा प्राप्त गर्न अनुरोध गरिन्छ।"
यस निर्णयले पहिरो, बाढी र सडक अवरोधजस्ता सम्भावित जोखिम न्यूनिकरण गर्ने उद्देश्य राखिएको प्राधिकरणले जनाएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                