काठमाण्डौ । लगातार वर्षाले पहिरोको जोखिम बढेपछि सडक विभागले बीपी राजमार्गमा आज बिहान १० बजेपछि सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।
विभागका अनुसार बिहानैदेखि राजमार्गमा प्रवेश गरिसकेका सवारी साधनलाई पास गरिएको भए पनि अब १० बजेपछि नयाँ गाडी पठाइने छैन।
यस्तै, पृथ्वी राजमार्गमार्फत काठमाडौं आउने गाडीलाई कुरिनटारमा रोकिने र काठमाडौंबाट बाहिरिने गाडीलाई नागढुंगामै रोकिएको विभागले जनाएको छ।
सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले नागढुंगा चेकपोस्टमा माइकिङ गर्दै चालकहरूलाई काठमाडौं फर्कन आग्रह गरिरहेको छ। प्रहरीका अनुसार धादिङका विभिन्न स्थानमा ठूलो पहिरो खसेको र तत्काल सडक खुल्ने अवस्था नरहेकाले यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन अनुरोध गरिएको छ।
ट्राफिक प्रहरीले भनेको छः-“धादिङ क्षेत्रमा ठूलो पहिरो खसेको छ। तत्काल सडक खोल्न सकिँदैन। यात्रु तथा चालक महानुभावहरूलाई सुरक्षित रूपमा काठमाडौं फर्किन हार्दिक अनुरोध गर्दछौं।”
चितवन प्रहरीले पनि मुग्लिन–नारायणगढ सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी दिएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                