काठमाण्डौ । निरन्तरको वर्षा र बाढी–पहिरोले प्रभावित जनतालाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। प्रभावितहरूले नजिकको स्थानीय प्रशासनसँग सम्पर्क गरी सहयोग माग्न सक्ने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।
आपतकालीन अवस्थाका लागि आवश्यक परे हेलिकप्टरमार्फत उद्धार कार्य गर्ने तयारी समेत सरकारले गरेको छ। साथै, बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सारेर खानपिन र बसोबासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
यस उद्देश्यका लागि ७७ वटै जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायका सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको छ। मन्त्रालयले विशेष गरी अलपत्र परेकाहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा पुर्याउन निर्देशन दिएको छ।



                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                