काठमाण्डौ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा जारी भारी वर्षा र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकाका नदी किनारका करिडोर सडकमा राति सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।
प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको सूचनामा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयलाई करिडोर सडकमार्गमा आवश्यकतानुसार आवागमन रोक्न निर्देशन दिन अनुरोध गरिएको छ।
सूचनामा भनिएको छ, “नदी खोला वरिपरि पानीको सतह अझै बढ्ने संकेत देखिएकाले डुबान तथा दुर्घटनाको सम्भावना उच्च छ, त्यसैले राति सवारी सञ्चालन नगरी सतर्क रहन सबैलाई अनुरोध गरिन्छ।”
अत्यधिक वर्षाका कारण राजधानीका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको र यसले जोखिम थपिने अनुमान भएकाले यात्रु तथा चालकलाई सजग हुन आग्रह गरिएको हो।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                