काठमाण्डौ । काठमाडौं उपत्यकामा विपद् व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा वायुसेवा सञ्चालक संघले निःशुल्क उद्धार सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष मनोज कार्कीले यस्तो निर्णय सार्वजनिक गरेका हुन्। गृह मन्त्रालयले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेसँगै सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना हेलिकप्टर तयारी अवस्थामा राखिसकेको संघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “काठमाडौं उपत्यकाभित्र हुने विपदजन्य घटनामा सदस्य कम्पनीका हेलिकप्टरहरूले उद्धार कार्य निःशुल्क गर्नेछन्। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई समन्वय अधिकारी तोक्न आग्रह गरिएको छ, र उद्धार कार्य सो अधिकारीको निर्देशनअनुसार हुनेछ।”
संघले विपद् उद्धार कार्यलाई सहज बनाउन सबै हेलिकप्टर कम्पनी एकताबद्ध भएर तत्पर रहेको स्पष्ट पारेको छ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                