काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको तटीय क्षेत्रबाट सारिएकाहरुलाई विभिन्न विद्यालयहरुमा सुरक्षित ढंगले राखिएको छ ।
महानगरका मेयर बालेन शाहका अनुसार हालसम्म काठमाण्डौ महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरुलाई सारिएको हो ।
आज राति अति भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेकोले थप मानवीय क्षति हुन नदिन महानगरले टिम नै परिचालन गरेर अन्य सरकारी निकायसँगको समन्वयमा जोखिम क्षेत्रमा रहेकाहरुलाई सार्ने काम गरेको थियो ।
मेयर शाहका अनुसार महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थल(सेल्टर) बनाउन सकिने जनाएको छ ।
जोखिम क्षेत्रबाट सारिएकाहरुको खाने तथा बस्नेको व्यवस्था पनि महानगरले नै गरिरहेको छ ।
शाहका अनुसार हाल त्रिपुरेश्वरको विश्व निकेतनमा ७० जना, गुहेश्वरीमा ५२ जना, जनविकास कुलेश्वरमा ५२ परिवारका २५१ जना बसिरहेका छन् ।
टेकुको महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                