रसुवा । गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीले भक्तपुरका ४ जना पर्यटकलाई बगाएको छ।
भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना शुक्रबार बिहान खोल्सा पार गर्ने क्रममा बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरू वडा नम्बर ५, ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा दुर्घटना भएको हो।
बेपत्ता हुनेमा भक्तपुर ठिमीका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन्। उनीहरूसँगै गएका रोज कर्माचार्यले घटनाबारे जानकारी गराएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो।
सवारी मार्ग नहुँदा उद्धार टोली घटनास्थलसम्म पुग्न ढिला भएको प्रहरीले जनाएको छ। हाल सुरक्षाकर्मीले स्थानीयको सहयोगमा ती चार जनाको खोजी कार्य जारी राखेका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                