काठमाण्डौ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि औपचारिक कार्यतालिका अनुमोदन गरेको छ। आयोगका अनुसार, निर्वाचन तयारीका सबै चरण निर्धारित समयमा सञ्चालन हुनेछन्।
कार्यतालिकाअनुसार, राजनीतिक दलको दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म हुनेछ। पहिलो चरणको निर्वाचन प्रणाली अन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार सञ्चालन हुनेछ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।
निर्वाचनको दिन, फागुन २१ गते बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान खुला रहने छ र मतपेटिका संकलनपछि मतगणना सुरु गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि भने मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम तय गरिएको छ।