काठमाण्डौ । पछिल्लो समय बहुमूल्य पहँलो धातु सुनको मूल्य निरन्तर बढिरहेको छ । तर सुन मूल्यवृद्धि हुने एक्लो धातुको रुपमा भने रहेको छैन । यो वर्ष चाँदीको मूल्य पनि ७५ प्रतिशतले बढिसकेको छ ।
सुरक्षित लगानीको रुपमा लगानी बढ्नु, बलियो औद्योगिक माग र आपूर्ति सीमितताका कारण चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।
आज चाँदीको भाउले प्रतिऔंस ५० डलरको आँकडा पार गरेको छ । चाँदीको भाउ बढेर प्रतिऔंस ५१ डलरमा कारोबार भईरहेको छ । चाँदीको भाउले सन् १९८० पछि पहिलोपटक प्रतिऔंस ५० डलरको आँकडा पार गरेको हो ।
विश्व राजनीतिक अस्थिरता र आर्थिक अनिश्चितताका बीच यो वर्ष लगानीकर्ताले सुन र चाँदीमा व्यापक लगानी बढाएका छन् । जसका कारण मूल्यवृद्धि भईरहेको छ । यसका साथै, अमरिकाले लगाएको ट्यारिफ र फेडरल रिजर्भको स्वायत्ताको विषयमा उठेको प्रश्नले समेत मूल्यवृद्धिलाई सहयोग पुर्याईरहेको छ ।
चाँदीको प्रयोग औद्योगिक क्षेत्र, डेटा सेन्टर, सोलार प्यानल र स्मार्टफोनहरुमा समेत हुने गर्छ ।
यस्तै सुनले समेत यसै साता पहिलोपटक प्रतिऔंस ४ हजार डलरको आँकडा पार गरेको थियो ।