काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औं साधारण सभा आगामी कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकको कायम अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब १० करोड कायम गर्ने, बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने रअन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।