काठमाण्डौ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा १२ अर्ब २८ करोड ३० लाख मूल्यबराबरका मालवस्तु आयात भएको छ ।
यो रकम गत आवको सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख अर्थात् १३.३१ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा काँकडभिट्टा नाकाबाट १० अर्ब ८४ करोड ३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवमा यो नाकाबाट हुने निर्यात भने २१.०८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा यो नाका भएर ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँबराबरको सामान निर्यात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो ।
यो कार्यालयबाट तीन महिनाको अवधिमा ४ अर्ब १५ करोड २० लाख ८ हजारबराबरको राजश्व संकलन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.६९ प्रतिशतले बढी हो ।

