काठमाण्डौ । लामो निराशा, राजनीतिक अस्थिरता र आर्थिक सुस्तीबीच पनि सेयर बजार अहिले नयाँ मोडमा पुगेको देखिन्छ।
लगानीकर्ताहरूको मनोविज्ञान अझै डर र प्रतीक्षाबीच फसेको छ, तर बजारको पृष्ठभूमि भने उकालोतर्फ अगाडि बढ्न तयार छ।
सन् २०२० पछि पहिलोपटक, बजारका हरेक सूचकले ‘बुल रन’ सुरु हुने दिशातिर इशारा गर्दैछन्।
विगत महिनाहरूमा बजारमा पसारिएको डर र निराशा अब क्रमशः पग्लँदैछ।
ब्याजदर इतिहासकै न्यून बिन्दुमा झरेको छ, सुधार एजेन्डा कार्यान्वयनको चरणमा पुगेको छ, र बजारमा नयाँ पूँजी प्रवाहको संकेत प्रस्ट देखिन थालेको छ।
उसो भए के अब बजारको नयाँ अध्याय सुरु हुन लागेको हो ? त्यसका लागि सबै आधार तय भइसकेको हुन् ?
१. पर्वको रौनक सकियो, अब बजारमा पैसा फिर्ता
दशैं, तिहार र छठजस्ता ठूला पर्वहरूमा सेयर बजारबाट पैसा झिकेर छोटो अवधिको व्यापारमा लगानी गर्ने पुरानो चलन हो। यो वर्ष पनि साना ठूला व्यापारीहरूले पर्वको मौका छोपेर सेयर बेचे र व्यापारमा हात हाले। तर, अब पर्वको रौनक सकिएको छ। व्यापारीहरू फेरि सेयर बजारमै फर्किंदै छन्। पर्वको समयमा बाहिरिएको पैसा अब बिस्तारै बजारमा भित्रिनेछ, जसले खरिदको पल्लालाई भारी बनाउँदै लगानीकर्ताहरूमा आत्मविश्वास बढाइदिनसक्छ ।
२. ब्याजदरको ऐतिहासिक कथाः सेयर बजारको सुनौलो अवसर
बैंकको ब्याजदर र सेयर बजार सधैं उल्टो बाटोमा हिँड्छन्। ब्याजदर घट्दा सेयर बजारको रौनक बढ्छ। अहिले बैंकहरूको ब्याजदर ऐतिहासिक रूपमा न्यून बिन्दुमा झरेको छ। सेयर धितो कर्जाको व्यक्तिगततर्फको सीमा हटाइएको छ। यस्तो बेला सस्तो ब्याजमा कर्जा लिएर सेयर किन्नेहरू बढ्ने निश्चित छ। ठूला लगानीकर्ताहरूले पनि अब व्यक्तिगत रूपमा कर्जा लिएर बजारमा प्रवेश गर्ने सम्भावना छ। यो न्यून ब्याजदरका कारण सेयर बजार चाँडै उकालो यात्रामा अगाडि बढ्ने देखिन्छ ।
३. लाभांशको सिजन, मौका छोप्ने अवसर
पर्वको रौनकसँगै सेयर बजारमा लाभांश घोषणाको सिजन पनि सुरु भएको छ। राम्रा कम्पनीहरूले आकर्षक लाभांश घोषणा गर्न थालेका छन्। अहिले सेयर किन्दा धेरै कम्पनीको लाभांश आफ्नो पोल्टामा पार्न सकिन्छ। यो लाभांशको लोभले लगानीकर्ताहरू उत्साहित छन्। राम्रा कम्पनीका सेयर दोस्रो बजारबाट उठाउने र केही महिना राखेर वर्षभरिको नाफा कमाउने अवसरले बजारलाई उकालो चढाउन ठूलो बल पुग्ने देखिन्छ।
४.सुधारको सुनौलो अध्यायः बजारमा नयाँ आशा
लगानीकर्ताहरूले लामो समयदेखि पूँजीबजार सुधारका माग राख्दै आएका थिए। अर्थमन्त्री रामेश्वर खनालको आगमनसँगै सुधार कार्यदल गठन भई महत्त्वपूर्ण कामहरू सम्पन्न भएका छन्। धितोपत्र बोर्डले सुधारका धेरैजसो अजेण्डालाई कार्यान्वयनमा ल्याइसकेको छ। बोर्डमा कर्मचारी आन्दोलनले केही अवरोध ल्याए पनि यो धेरै दिन नटिक्ने निश्चित छ। त्यसपछि सुधारका बाँकी कामहरू तीव्र गतिमा अघि बढ्नेछन्। केन्द्रीय बैंकले पनि आफ्नो जिम्मेवारीका महत्त्वपूर्ण सुधारहरू सर्कुलरमार्फत सम्बोधन गरिसकेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बाँकी विषयहरू पनि समेटिने अपेक्षा छ। यी सबैले सेयर बजारमा सकारात्मक ऊर्जा भर्ने निश्चित छ।
५. अन्य क्षेत्र सुस्ताउँदा, सेयर बजारको चमक
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका ठूला संरचना, होटल र उद्योगहरूमा तोडफोड र आगजनीले ठूला लगानीकर्ताहरूको मनोबल खस्किएको छ। सरकारले यस्ता व्यवसायीको मनोबल उकास्न ठोस राहत प्याकेज ल्याउन नसक्दा अन्य क्षेत्रमा लगानी तत्काल रोकिएको छ। यो निराशाको फाइदा सेयर बजारले लिन सक्छ। ठूला लगानीकर्ताहरू छोटो अवधिको नाफाका लागि सेयर बजारमा प्रवेश गर्नसक्ने सम्भावना छ। जबसम्म सरकारले अन्य क्षेत्रमा लगानीको सुरक्षाको ग्यारेन्टी गर्दैन, तबसम्म सेयर बजारमा पैसाको बाढी आउने र बजारलाई फाइदा पुग्ने देखिन्छ।
६.सेयरको अधिक आपूर्ति नियन्त्रणमा, बजारलाई राहत
पछिल्लो समय नेप्सेमा सेयरको अधिक आपूर्तिले दोस्रो बजारलाई नकारात्मक प्रभाव पारेको थियो। जथाभावी रूपमा आईपीओ र हकप्रद जारी हुँदा बजारमा सेयरको बाढी आएको थियो। तर, अहिले धितोपत्र बोर्डमा कर्मचारी आन्दोलन र सत्ता परिवर्तनका कारण नयाँ सेयर निष्कासन ठप्प छ। यसले पूँजी संकलन गर्न खोज्ने कम्पनीहरूलाई असर परे पनि सेयर बजारलाई भने छोटो अवधिका लागि सकारात्मक प्रभाव पार्ने देखिन्छ। आपूर्ति कम हुँदा बजारमा खरिदको उत्साह बढ्ने र बजार उकालो लाग्ने सम्भावना छ।
७.सुनचाँदीको घट्दो भाउ
अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्धका कारण सुरक्षित लगानीको रुपमा विश्वभरका लगानीकर्ताले सुनचाँदीमा लगानी बढाएपछि यसको भाउ अन्तराष्टिय बजारमा प्रति औंस ४४०० डलर हाराहारी पुगेर अहिले करेक्सनको चरणमा छ । सुनको बढ्दो भाउमा राम्रो रिटर्न हुने देखेर कतिपय सेयर बजारका लगानीकर्ताहरुले समेत बजारको पैसा सुनचाँदीमा खन्याइरहेका थिए । अहिले अन्तराष्टिय बजारमा सुनको मूल्य घटेर ४१०० डलरको हाराहारीमा आइपुगेको छ । चीन र अमेरिकाबीच सम्झौता हुने निश्चित भएको अन्तराष्टिय समाचार संस्थाहरुले खबरहरु प्रकाशित गरिरहेका छन् । यदि समाचारहरुमा दाबी गरिएजस्तो अमेरिका र चीनबीच सम्झौता भई चर्कदो व्यापार युद्ध अन्त्य भयो भने त्यसले सुनचाँदीको मूल्यमा अप्रत्यासित गिरावट निम्त्याइदिनसक्छ, जसका कारण नेपालमा समेत सुनतर्फको आकर्षण घट्नेछ । यसले सुन बेचेर सेयर बजारमा प्रवेश गर्ने व्यापारी तथा लगानीकर्ताको संख्या बढाइदिनसक्छ । जसका कारण बजारमा सकारात्मक उर्जा प्राप्त हुने अनुमान गर्न सकिन्छ ।
“विश्वास फिर्ता भयो भने बजार रोकिँदैन”
सेयर बजार केवल अंकको खेल होइन, मनोविज्ञान र विश्वासको बजार हो। अहिले बजारसँग सबै आधार छ, सस्तो ब्याज, सुधारको गति, पूँजीको सम्भावना र आपूर्तिको कमी।
अभाव छ त केवल एक कुराको, लगानीकर्ताको आत्माविश्वास।
बजार अब धेरै खसेन भने नेप्सेमा केवल सुधार मात्र हुँदैन, रिबाउन्ड मोडमा प्रवेश गर्नेछ। नोभेम्बरको दोस्रो साताबाट बजारमा बुलिस ट्रेन्ड देखिनसक्ने सम्भावना अत्यन्त प्रबल छ।
नेपालको पूँजी बजारका लागि सन् २०२५ को अन्त्य, सम्भवतः नयाँ सुरुवात बन्नसक्छ।
निश्कर्षमा अब बजारको उकालो यात्रा सुरु हुन केवल समयको कुरा होः आधार तयार छन्, खेलाडी तयार छन्, अब चाहिएको छ त केवल “विश्वासको क्लिक।”
(सम्पादकीय दृष्टिकोणसहितको रिपोर्ट)

