काठमाण्डौ । युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् ।
सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।
तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंक कामू सीईओ सन्तोषकुमार राठीको भरमा चलिरहेको थियो । कर्मचारीहरुले बैंकभित्रबाटै सीईओ नियुक्त गर्नुपर्ने आवाज उठाए पनि सञ्चालक समितिले भने ३० वर्ष लामो बैंकिंग अनुभव सँगालेका शाक्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
शाक्य हाल नवील बैंकको वरिष्ठ डेपुटी सीईओ छन् । उनले नवील बैंकमा कामू सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् । शाक्यले सोमबार नै नवील बैंकको वरिष्ठ डेपुटी सीईओबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएलगत्तै उनले एनआईसी एशिया बैंकको कमाण्ड सम्हाल्ने बताए ।
नवील जानुअघि उनी ग्लोबल आईएमई बैंकमा थिए । उनी जनता बैंकको समेत डीसीईओको रुपमा काम गरेका थिए । जनता ग्लोबलमा मर्ज भएपछि उनी पनि ग्लोबल पुगेका थिए । जनता बैंक जानुअघि उनले सिभिल बैंकमा पनि काम गरेका थिए ।
कुनै समय तत्कालीन एशिया बैंकबाटै स्वेच्छिक अवकाश योजना रोजेर विदा भएका शाक्यक त्यसको केही वर्षपछि एनआईसी एशिया बैंकको सीईओ बन्न सफल भएका हुन् ।


