काठमाण्डौ । पर्सा औद्योगिक करिडोरमा अवस्थित जगदम्बा स्टील प्रा.लि. ले लामो समयदेखि बाँकी रहेको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोगको प्रिमियम महसुल तिर्न सुरु गरेको छ। कम्पनीले बुधबार पहिलो किस्ता बुझाएपछि गत कात्तिक ४ गते विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको हो।
लोडसेडिङका समयमा प्रयोग गरिएको उक्त विशेष लाइनको महसुल तिर्न बाँकी रहेका उद्योगमध्ये जगदम्बा स्टील सबैभन्दा बढी बक्यौता रहेको कम्पनी हो। कम्पनीमाथि जम्मा १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता रहेको बताइन्छ।
जगदम्बाले बक्यौताका रकमलाई २८ किस्तामा विभाजन गरी बुझाउने सहमति गरेको छ। त्यसअनुसार कम्पनीले बुधबार पहिलो किस्ताका रूपमा ५ करोड ७२ लाख ९ हजार रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको हो।
यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुल अन्तर्गत पर्ने जनाएको छ।

