काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ९० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ९८ करोड ८७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म ५९ लाख ४८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ४ करोड ३५ लाख रुपैयाँ, ह्रासकट्टी खर्च १७ करोड १५ लाख र वित्त खर्च १७ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सिर्जित वातावरणका कारण व्यवसायमा गम्भिर असर परेको कम्पनीले जनाएको छ । यस्तै, नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम बुझाउन पत्राचार गरेकाले कम्पनीमा थप वित्तीय भार सिर्जना भएको कम्पनीले जनाएको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ६७ करोडबाट घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.८० रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १८६.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८८.८२ रुपैयाँ र तरलता अनुपात ०.८३३ प्रतिशत कायम भएको छ ।

