काठमाण्डौ । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल कम्प्याक्टमा अमेरिकाले थप ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन्।
यससँगै परियोजनामा उपलब्ध कुल सहयोग ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। सम्झौता अनुसार यस रकममध्ये अमेरिकाको योगदान ५५ करोड डलर र नेपाल सरकारको योगदान १९ करोड ७० लाख डलर हुनेछ।
एमसीसी अन्तर्गत आएको यो अतिरिक्त स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा प्रणाली सुदृढीकरण र क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सरकारका अनुसार यो सहयोगले नेपालको ऊर्जा ग्रिडलाई अझ विश्वसनीय बनाउने, बजार पहुँच विस्तार गर्ने र अन्तर्राष्ट्रिय ऊर्जा “कनेक्टिभिटी” सुधार गर्नेछ। साथै, परियोजनाले ऊर्जा पूर्वाधार क्षेत्रमा अमेरिकी प्रविधि, अनुभव र कम्पनीहरूको सहभागिता बढाउने बाटो पनि खोल्नेछ।
अमेरिका र नेपालबीचको दीर्घकालीन साझेदारीको प्रतीकका रूपमा प्रस्तुत गरिएको यो अनुदानले दुवै देशले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र साझा समृद्धि का लागि दशकौँदेखि गर्दै आएको सहकार्यलाई अझ मजबुद बनाउने बताइएको छ।
एमसीसी नेपाल सम्झौता पूर्ण रूपमा अनुदानमा आधारित, ऋणरहित, तथा उच्च प्रभाव भएका पूर्वाधार परियोजनामा केन्द्रित कार्यक्रम भएकाले यसले नेपालको ऊर्जा क्षेत्रको आधुनिकीकरणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।