काठमाण्डो । भक्तपुर जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि जिल्लामा सञ्चालित नापतौल डोर कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
भक्तपुर उद्योग वाणिज्य संघको पहल एवं गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरको सहयोग तथा जिल्लास्थित नगरपालिका कार्यालयहरुसँगको सहकार्यमा नापतौल डोर कार्यक्रम सञ्चालन भएको हो । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नियमसंगत तरिकाले आफूहरुले जाँच गरी नवीकरण तथा नयाँ दर्ता गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीका प्रमुख पवन चन्दले बताए ।
मध्यपुर थिमी नगरपालिकासँग सहकार्य गरी मध्यपुर थिमी नगरपालिकाका तीन स्थानमा कार्यालय राखेर सञ्चालन गरिएको कार्यक्रमबाट २३४ जना जना व्यापारी व्यवसायी लाभान्वित भएका थिए । गत कार्तिक २७ गते मध्यपुर थिमी नपा वडा नं. ३ कार्यालय परिसरबाट ५१ जना, कार्तिक २८ गते नयाँठिमीस्थित यचु पार्टी प्यालेसबाट ९६ जना र कार्तिक ३० गते मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमी परिसरबाट ८७ जना व्यापारी, व्यवसायीहरुले आफूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण गराएको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले जानकारी दिए ।
यसैगरी, भक्तपुर नगरपालिकासँगको सहकार्यमा भक्तपुर नगरपालिका क्षेत्रका चार स्थानमा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ४४१ जना व्यवसायीहरुले सेवा प्राप्त गरे । मंसिर १ गते वडा नं. ४ स्थित टुरिजम मार्केट परिसरमा कार्यालय राखेर पहिलो दिन सञ्चालन गरिएको डोर कार्यक्रममा ९६ जना व्यापारी तथा व्यवसायीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गराएका थिए । मंसिर २ गते वडा नं. १० स्थित कमलविनायक बिगमार्ट परिसरमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १५७ जना, मंसिर ३ गते वडा नं. ३ स्थित खौमाबाट ८० जना र मंसिर ४ गते वडा नं. ७ स्थित इनाचोबाट १०८ जना व्यापारी व्यवसायीहरुले सेवा लिएका थिए ।
त्यसैगरी, सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा सूर्यविनायक नगरपालिका क्षेत्रका दुई स्थानमा सञ्चालित कार्यक्रममा १६९ जना व्यापारी व्यवसायीहरु लाभान्वित भए । मंसिर ७ गते बालकोटचोकबाट ८८ जना र मंसिर ८ गते सूर्यविनायक चोकबाट ८१ जना व्यापारी व्यवसायीहरुले आफूहरुले प्रयोग गर्दै आएका नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण गराएका थिए ।
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताइन् । भक्तपुर उद्योग वाणिज्य संघ स्थापना कालदेखि जिल्लाका उद्योग व्यवसायीहरुको हकहित संरक्षण प्रवद्र्धनका लागि क्रियाशील रहँदै आएको भन्दै उनले नापतौल डोर कार्यक्रम पनि जिल्लाका व्यापारी तथा व्यवसायीहरुको सहजतालाई मध्यनजर गरी जिल्लामै कार्यक्रम सञ्चालन गरिएको जनाइन् ।
उनले संघको आग्रहमा जिल्लामा कर्मचारीहरु खटाई सहयोग गरेकोमा नापतौल डोर कार्यक्रममा गुणस्तर तथा नापतौल कार्या त्रिपुरेश्वरलाई धन्यवाद दिँदै आगामी दिनमा पनि संघले जिल्लाका व्यापारी व्यवसायीहरुलाई नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण गर्न काठमाण्डौ पुग्नुपर्ने झन्झटबाट मुक्त गराउन जिल्लामै नापतौल डोर कार्यक्रम सञ्चालनको लागि पहल गर्ने बताइन् ।

