काठमाण्डौ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजना गर्न लागिएको छ ।
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ रहेको छ । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे आयोजना गर्दै आइरहेका छ ।बुटवलस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन,नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटापेभिलियन हुनेछन् । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन् । यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन् ।
स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । यसपटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियान लाई थप प्राथमिकताका साथ अघि बढाउने जनाएको छ । प्रर्दशनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने छन् ।
प्रदर्शनीका मुख्य उद्देश्य :
–स्वेदशी उत्तपादनहरुको प्रदर्शन र बजारीकरण
–प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान
–नेपाली उद्योगको लागि अवसरको खोजी
–उत्पादन उपभोक्ताबिज्ञहरु र सरकारी निकायबीच अन्तरसम्वाद
–आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी
–निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन
–युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन
–पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल
–औद्योगिक जनशक्ति निर्माण ।

