काठमाण्डौ । महालक्ष्मी विकास बैंकले वार्षिक साधारण सभा डाकेको छ । मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको २४ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आव २०८१/८२ सम्मको मुनाफा रकमबाट गत असार मसान्तसम्म कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.३७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८२ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा संस्थापक समूहका ३ र सर्वसाधारण समूहका ३ गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै स्वतन्त्र सञ्चालकको नियुक्तीको जानकारी र बैंकको कर्पोरेट भवन बनाउन आवश्यक जग्गा वा भवन खरिद गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

