काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी पुस २५ गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८१/८२ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै हालको जारी तथा चुक्ता पूँजीबमोजिमको बोनस सेयर जारी गरेर जारी तथा चुक्ता पूँजी १ अर्ब ७५ करोड कायम गर्ने, हाल कायम रहेको संस्थापक शेयरमध्ये ९ प्रतिशत बिन्दुले हुन आउने संस्थापक सेयरलाई सर्वसाधारण शेयरमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० लाई ५१ः४९ कायम गर्ने र संस्थाले अन्य इजाजतपत्रप्राप्त “घ” वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ति गर्न उपयुक्त देखेमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै अध्यक्षद्धारा प्रस्तुत आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गरिनेछ । सभामा सञ्चालक समितिमा भएको स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी समेतख गराइनेछ ।
लाभांश वितरण तथा साधारण सभाको प्रयोजनको लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

