काठमाण्डौ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ।
उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म कुल ४ सय ३८ वटा लगानी प्रतिबद्धता प्राप्त भएका छन्। तीमध्ये १ सय ५२ वटा स्वचालित प्रणालीमार्फत र २ सय ८६ वटा विभागमै उपस्थित भई स्वीकृत गरिएका हुन्।
विभागका अनुसार स्वचालित प्रणालीबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजार रुपैयाँबराबरको तथा विभागमै स्वीकृति लिएर ३६ अर्ब १ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।
मंसिर महिनामा मात्रै ५६ वटा परियोजनामार्फत १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रतिबद्धता आएको विभागले जनाएको छ।
उक्त अवधिमा साना, मझौला र ठूला गरी विभिन्न किसिमका उद्योग सञ्चालनका लागि विदेशी लगानी स्वीकृत भएको छ। सबैभन्दा बढी ४ सय २३ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ भने ८ वटा मझौला र ७ वटा ठूला उद्योगका लागि विदेशी लगानीकर्ताले स्वीकृति लिएका छन्।
क्षेत्रगत रूपमा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी २ सय ३६ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ। त्यसपछि पर्यटन क्षेत्रमा १ सय ८५ वटा, सेवा क्षेत्रमा २८ वटा, उत्पादनमा २४ वटा, कृषिमा १३ वटा, खनिजमा १ वटा र ऊर्जा क्षेत्रमा १ वटा उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।

