काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले ३१ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ३० गते बुधबारका दिन काठमाण्डौको नयाँ बानेश्वरमा रहेको कोषको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने र साधारण सभाको निर्ण पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १/१ जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

