काठमाण्डौ । बझाङको बित्थडचिर गाउँपालिकामा सार्वजनिक संस्थामार्फत ठूलो मात्रामा रकम दुरुपयोग भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट र गाउँपालिकाका सब–इन्जिनियर किरण भण्डारीलाई प्रतिवादी बनाएको हो।
आयोगका अनुसार उनीहरूले सुनकुडा माध्यमिक विद्यालयको नाममा विभिन्न शीर्षक देखाई सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। विद्यालय व्यवस्थापन र स्थानीय तहका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले मिलेमतोमा बजेट दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालबाट २६ लाख ५४ हजार रुपैयाँ तथा प्रमुख प्रशासकीय अधिकृत र सब–इन्जिनियरबाट २० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

