काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्बको तुलनामा १७.७१ प्रतिशतले कम हो ।
बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशतले बढी हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १ अर्ब १० करोड रुपैयाँ रहेको बैंकको खुद शुल्क तथा कमिशन आम्दाबी बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
बैंकको रिटेन्ड अर्निङको आकार ५६ करोड ४३ लाख र रिजर्भको आकार १२ अर्ब ८१ करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब ८० अर्बबाट बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको कर्जा परिचालन पनि २ खर्ब २८ अर्बबाट बढेर २ खर्ब ३९ अर्ब पुगेको छ ।
बैंकले सम्भावित जोखिमका लागि १ अर्ब ५५करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्टाएको छ । अघिल्लो आवमा भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३४ करोड ४७ लाख मात्रै छुट्टाएको थियो । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.५६ प्रतिशत पुगेको छ ।
अघिल्लो आवमा १ अर्ब ३३ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाखमा सीमित बनेको छ । यो अवधिमा बैंकको लाभांश क्षमता पनि १०.२५ प्रतिशतबाट घटेर ५.१८ प्रतिशतमा खुम्चिएको छ ।
खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि घटेको छ । बैंकको ईपीएस २०.७८ रुपैयाँबाट घटेर १७.१० रुपैयाँमा सीमित बनेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १६८.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८६२.२५रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.९८ गुणा र तरलता अनुपात २५.४७ प्रतिशत कायम भएको छ ।

