काठमाण्डौ । वित्तीय अनियमितता र आर्थिक अपचलनका कारण समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले खारेज गर्नुको सट्टा पुनर्संरचना गरी सञ्चालनमा ल्याउने तयारी थालेको छ।
राष्ट्र बैंकले स्वीकृत गरेको नयाँ रणनीतिअनुसार बैंकको पुँजी संरचनामा व्यापक परिवर्तन गर्दै नयाँ लगानीकर्ता भित्र्याएर पुनः सञ्चालनमा ल्याउने योजना अघि सारिएको हो।
पुनर्संरचना योजनाअन्तर्गत बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याइनेछ। यसअघि बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको थियो। पुँजी वृद्धिका लागि नयाँ स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिइनेछ भने आवश्यक परे विदेशी लगानीसमेत भित्र्याउने विकल्प खुला राखिएको छ।
अपचलनमा संलग्न संस्थापकको सेयर स्वामित्व १ प्रतिशतमा झारियो
बैंकमा भएको वित्तीय अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको सेयर स्वामित्व एक प्रतिशतमा सीमित गर्ने व्यवस्था गरिएको छ।
उनीहरूको स्वामित्वमा रहेका संस्थापक तथा साधारण सेयर कटौती गरिएपछि बैंकको चुक्ता पुँजी घटेर २९ करोड १ लाख रुपैयाँमा झरेको छ।
यसरी पुराना सेयरधनीको स्वामित्व कटौती गर्दै नयाँ लगानीकर्तामार्फत बैंकको पुँजीगत आधार बलियो बनाउने रणनीति राष्ट्र बैंकले अघि सारेको हो।
ठूला निक्षेपकर्तालाई सेयरधनी बन्ने अवसर
पुनर्संरचना योजनामा निक्षेपकर्तालाई समेत बैंकको स्वामित्वमा सहभागी गराउने व्यवस्था गरिएको छ।
यसअनुसार बैंकमा ५ लाख रुपैयाँभन्दा बढी निक्षेप रहेका व्यक्तिगत निक्षेपकर्ताले आफ्नो निक्षेपको अधिकतम ५० प्रतिशत रकम बराबरको सेयरमा स्वेच्छिक लगानी गर्न पाउनेछन्।
यस प्रयोजनका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ।
तर, निक्षेपकर्तालाई सेयरमा लगानी गर्न बाध्य पारिने छैन। इच्छुक निक्षेपकर्ताले मात्र आफ्नो निक्षेपको निश्चित हिस्सा सेयरमा रूपान्तरण गर्न सक्नेछन्।
राष्ट्र बैंकको योजनाअनुसार पुनर्संरचनापछि बैंकमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत कायम गरिनेछ। बाँकी पुँजी निक्षेपकर्ता तथा सर्वसाधारणबाट समेत जुटाइनेछ।
समस्याग्रस्त घोषणा भएको करिब दुई वर्षपछि पुनर्जीवनको प्रयास
कमजोर वित्तीय अवस्था, उच्च निष्क्रिय कर्जा तथा निक्षेपकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएपछि राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो।
बैंकमा वित्तीय अनियमितता तथा रकम अपचलनका घटना सार्वजनिक भएपछि यसको वित्तीय अवस्था थप कमजोर बनेको थियो।
समस्याग्रस्त घोषणापछि बैंकको भविष्य अनिश्चित बनेको अवस्थामा राष्ट्र बैंकले पुनर्संरचनामार्फत संस्थालाई जोगाउने विकल्प अघि सारेको हो।
यद्यपि, पुँजी वृद्धि गरेर मात्रै बैंकको समस्या समाधान हुने अवस्था छैन।
बैंकमा रहेको खराब कर्जा असुली, अपचलन भएको रकम फिर्ता, वित्तीय अनुशासन कायम गर्ने र निक्षेपकर्ताको गुमेको विश्वास फर्काउने विषय पुनर्संरचनाका प्रमुख चुनौती हुनेछन्।
विशेषगरी नयाँ लगानीकर्ता आकर्षित गर्ने तथा बैंकलाई पुनः व्यावसायिक रूपमा सक्षम बनाउने विषयमा राष्ट्र बैंकको रणनीति कति प्रभावकारी हुन्छ भन्ने चासो बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।