काठमाण्डौ। नबिल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ।
सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको यस कार्यक्रममार्फत हालसम्म १ हजार ५८० जनाले उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप हासिल गरेका छन्। कार्यक्रमबाट प्रशिक्षित उद्यमीहरूको पहलमा ३१८ वटा सामाजिक उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकले जनाएको छ।
सामाजिक समस्याको पहिचान गरी उद्यमशीलतामार्फत दिगो समाधान खोज्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमले युवालाई व्यावसायिक ज्ञान, सीप, मार्गदर्शन र उद्यम सञ्चालनका अवसर उपलब्ध गराउँदै आएको छ।
बैंकका अनुसार नबिल एसएसईअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका ६ समूहबाट ११३ जना प्रशिक्षित भएका छन्। उनीहरूको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भई सञ्चालनमा छन्।
त्यस्तै, देशभरका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन्। उक्त कार्यक्रमका सहभागीहरूले २२५ वटा उद्यम स्थापना गरेका छन्।
नबिल एसएसईले व्यवसाय स्थापना गर्ने सीपसँगै व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता, वित्तीय व्यवस्थापन, बजार विस्तार, सामाजिक प्रभाव मूल्यांकन र लगानी आकर्षणलगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्दै आएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले कार्यक्रमको पाँच वर्षे उपलब्धिले सामाजिक उद्यमशीलतामार्फत दिगो परिवर्तन सम्भव रहेको पुष्टि गरेको बताए।
‘नबिल एसएसईले उद्यमशीलतालाई केवल आर्थिक गतिविधिका रूपमा नभई सामाजिक समस्या समाधान र सकारात्मक परिवर्तनको प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ,’ ज्ञवालीले भने।
उनले उचित ज्ञान, मार्गदर्शन र अवसर पाए नेपाली युवाले नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गर्दै समुदाय र राष्ट्रको आर्थिक विकासमा योगदान दिन सक्ने बताए।
कार्यक्रमबाट प्रशिक्षित उद्यमीहरूले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, अनुभवमूलक पर्यटन, ड्रोन प्रविधिमा आधारित समाधान, स्थानीय हस्तकलाको बजारीकरण, सूचना प्रविधिमार्फत रोजगारीको पहुँच विस्तार तथा युवा र विद्यार्थीको मानसिक स्वास्थ्यलगायत क्षेत्रमा उद्यम सञ्चालन गरिरहेका छन्।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित नबिल एसएसई फेलोसिप ६ महिनाको क्षमता विकास कार्यक्रम हो। यसमा आवासीय सिकाइ, विशेषज्ञ परामर्श, क्षेत्र अध्ययन, व्यावसायिक योजना निर्माण तथा लगानीकर्तासमक्ष प्रस्तुतीकरणलगायत गतिविधि समावेश छन्।
बैंकका अनुसार फेलोसिप कार्यक्रमको सातौँ समूहका लागि सहभागी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विभिन्न साझेदार शैक्षिक संस्थामार्फत नयाँ सर्टिफिकेट कोर्ससमेत सञ्चालन भइरहेका छन्।
आगामी दिनमा कार्यक्रमको पहुँच थप विस्तार गर्दै धेरै युवालाई सामाजिक उद्यमशीलतामा जोड्ने र समावेशी आर्थिक विकास तथा दिगो सामाजिक रूपान्तरणमा योगदान पुर्याउने बैंकको लक्ष्य छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।