काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनीचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले स्वेच्छाले कारोबार बन्द गरी इजाजतपत्र खारेजीका लागि निवेदन दिएपछि राष्ट्र बैंकले उक्त निर्णय गरेको हो।
राष्ट्र बैंकको धनगढी कार्यालयले मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै कम्पनीको इजाजतपत्र खारेज भएको जानकारी दिएको छ। खारेजीसम्बन्धी निर्णय भने २०८३ कात्तिक २० गते भएको सूचनामा उल्लेख छ।
भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा रहेको कम्पनीले भारतीय मुद्रा खरिद तथा बिक्री गर्न राष्ट्र बैंकबाट अनुमति पाएको थियो। कम्पनीले व्यवसाय सञ्चालन बन्द गर्ने निर्णयसँगै उक्त अनुमति खारेज गरिदिन राष्ट्र बैंकसमक्ष अनुरोध गरेको थियो।
कम्पनीको निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को चौथो संशोधनसहितको विनियम २२ बमोजिम इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।
उक्त निर्णयसँगै राष्ट्रिय मनीचेञ्जरले राष्ट्र बैंकको इजाजतपत्रअन्तर्गत गर्दै आएको भारतीय मुद्रा खरिदबिक्री कारोबारको अनुमति समाप्त भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।