काठमाण्डौ। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन तयार पारिएको ऐन संशोधन विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर विधेयक छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी गरेको हो।
प्रस्तावित संशोधनमा बीमाको योगदान संकलन र उपचार सेवाबापतको भुक्तानी प्रणाली व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ। सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचारको जिम्मेवारी राज्यले लिने प्रस्ताव पनि समावेश छ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायत निकायबाट उपलब्ध हुने स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने विषय अघि सारिएको छ। बीमा सेवा सहज बनाउने, सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषयसमेत प्रस्तावित सुधारमा समेटिएका छन्।
संशोधनको तयारीकै क्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा थप छलफल भएको छ। छलफलमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए। यसअघि पनि मन्त्री मेहताको नेतृत्वमा सरोकारवालासँग चरणबद्ध छलफल हुँदै आएको थियो।
मन्त्री मेहताले स्वास्थ्य बीमालाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने उद्देश्यले सुधार अघि बढाइएको बताइन्। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्नु कानुनी तथा नीतिगत सुधारको लक्ष्य रहेको उनको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।