बिहीबार, मंसिर १०,२०८३ 12:08:31
  • बिहीबार, मंसिर १०,२०८३ 12:08:31
Global IME Bank Limited

उखुको मूल्यमा विवाद: सरकारको प्रस्ताव ७२०, किसानको माग १०२५ रुपैयाँ

सहमतिबिना मूल्य तोकिए चिनी उद्योग बन्द गरेर आन्दोलन गर्ने किसानको चेतावनी

Bizshala
उखुको मूल्यमा विवाद: सरकारको प्रस्ताव ७२०, किसानको माग १०२५ रुपैयाँ
New Office

 

काठमाण्डौ । चालु सिजनका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारणमा सरकार र किसानबीच मतभेद देखिएको छ। कृषि मन्त्रालयले गत वर्षको तुलनामा प्रतिक्विन्टल ३० रुपैयाँ बढाउने प्रस्ताव अघि सारेको किसान प्रतिनिधिहरूले बताएका छन्। किसानले भने उक्त प्रस्ताव अस्वीकार गर्दै आफ्नो सहमतिबिना मूल्य निर्धारण गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु यादवका अनुसार मन्त्रालयले सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल ७२० रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको छ। किसानले भने चिनीको मूल्य वृद्धिलाई आधार बनाएर अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ हुनुपर्ने माग राखेका छन्।

सरकारी प्रस्ताव र किसानको मागबीच प्रतिक्विन्टल ३०५ रुपैयाँको अन्तर छ।

यादवले मूल्य निर्धारणका विषयमा कृषि मन्त्रालयमा दुई–तीनपटक छलफल भए पनि सहमति जुट्न नसकेको बताए। उनका अनुसार मंसिर ३ र ४ गते मन्त्रालयमा देशभरका किसान प्रतिनिधि र उद्योगीहरूसँग छुट्टाछुट्टै वार्ता भएको थियो। त्यसक्रममा मन्त्रालयका अधिकारीहरूले गत वर्षभन्दा प्रतिक्विन्टल ३० रुपैयाँ बढाउने प्रस्ताव राखेका थिए।

गत सिजनमा किसानले उद्योगबाट प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए। सरकारले दिने ७० रुपैयाँ अनुदान जोड्दा उखुको कुल मूल्य प्रतिक्विन्टल ६९० रुपैयाँ कायम भएको थियो।

CG Motors
Garima Development Bank
IME remit

यस वर्ष उद्योगले तिर्ने रकम ६५० रुपैयाँ पुर्‍याउने र सरकारी अनुदान ७० रुपैयाँ यथावत् राख्ने प्रस्ताव गरिएको यादवले जानकारी दिए। उक्त प्रस्तावअनुसार किसानले अनुदानसहित प्रतिक्विन्टल ७२० रुपैयाँ पाउनेछन्।

तर किसान प्रतिनिधिहरूले चिनीको मूल्य वृद्धिअनुसार उखुको मूल्य समायोजन हुनुपर्ने अडान राखेका छन्। यादवले अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्नुपर्ने माग वार्तामा स्पष्ट रूपमा राखिएको बताए।

सहमति नजुटे पनि मन्त्रालयका अधिकारीहरूले आगामी मन्त्रिपरिषद् बैठकबाट मूल्य निर्धारण गर्ने गरी प्रस्ताव तयार पार्ने बताएको यादवको भनाइ छ। उनले किसानको असहमतिबीच एकपक्षीय निर्णय गरिए स्वीकार नगर्ने चेतावनी दिए।

‘हाम्रो सहमतिबिनै उखुको मूल्य निर्धारण हुन्छ भने हामी मान्दैनौँ। चिनी उद्योग बन्द गरेर आन्दोलन गर्छौँ,’ यादवले नेपालखबरसँग भने।

चिनीको मूल्यलाई आधार नबनाई उखुको खरिद मूल्य तोक्ने प्रयास किसानलाई मान्य नहुने उनको भनाइ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.