काठमाडौं। स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई कम्पनीका दुईवटा सेयर उपलब्ध गराउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै प्रत्येक बालबालिकाले एउटा सेयर कम्पनीबाट र अर्को सेयर आफूबाट व्यक्तिगत रूपमा प्राप्त गर्ने बताएका हुन्।
यसअघि बुधबार नै स्पेसएक्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्रम्प अकाउन्ट्स’ कार्यक्रममा हाल सक्रिय रहेका प्रत्येक खातामा कम्पनीको क्लास ‘ए’ साधारण सेयरमध्ये एक–एक कित्ता उपलब्ध गराउने घोषणा गरेको थियो। कम्पनीले मस्कले पनि व्यक्तिगत रूपमा त्यति नै सङ्ख्यामा सेयर प्रदान गर्ने जनाएको छ।
तर, मस्कले व्यक्तिगत रूपमा दिने सेयर पनि ट्रम्प अकाउन्ट्स कार्यक्रमअन्तर्गत नै वितरण गरिने हो वा होइन भन्ने विषयमा स्पेसएक्सले तत्काल कुनै स्पष्ट जवाफ दिएको छैन। त्यस्तै, उक्त सेयर बिक्री वा हस्तान्तरण गर्न नपाइने गरी निश्चित अवधिसम्म रोक्का (लकअप अवधि) राखिने हो कि होइन भन्नेबारे पनि कम्पनीले प्रतिक्रिया दिएको छैन।
गत अक्टोबरमा स्पेसएक्सका अध्यक्ष ग्विन सटवेल र उनका पतिले ट्रम्पको उक्त कार्यक्रमअन्तर्गत २० लाखभन्दा बढी बालबालिकालाई आफ्नो स्पेसएक्स सेयरमध्ये एक–एक कित्ता दिने प्रतिबद्धता जनाएका थिए।
मस्कले गत महिना पनि अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने घोषणा गरेका थिए। उनले एक्समा लेखेका थिए, ‘आगामी वर्ष म अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो स्पेसएक्स सेयरमध्ये एक–एक कित्ता दिनेछु। यो त धेरैमध्ये पहिलो कदम हुनेछ।’
उनले सेयरलाई भविष्यको अर्थतन्त्रमा स्वामित्वको हिस्साका रूपमा व्याख्या गर्दै त्यस्तो स्वामित्व सीधै सर्वसाधारणलाई उपलब्ध गराउनु नै सही उपाय भएको बताएका छन्।
‘भविष्यको अर्थतन्त्रमा हिस्सेदारी जनाउने सेयर सीधै जनतालाई दिनु नै यसको सही उपाय हो,’ मस्कले लेखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।