काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै विभिन्न देशबाट आयात हुने वस्तुमा नयाँ भन्सार महसुल लगाउने घोषणा गरेका छन्।
नयाँ महसुलबाट अमेरिकाका प्रमुख व्यापारिक साझेदार चीन, युरोपेली संघ (ईयू)सहित अन्य १२ देश तथा क्षेत्र प्रभावित हुनेछन्।
गत मार्चमा ह्वाइट हाउसले अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान थालेपछि यो कदम चालिएको हो। यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले घोषणा गरेका ‘लिबरेसन डे’ (मुक्ति दिवस)का भन्सार महसुललाई गैरकानुनी ठहर गरेको थियो।
नयाँ व्यवस्थाअनुसार चीनबाट आयात हुने वस्तुमा सबैभन्दा बढी ४० प्रतिशतसम्म भन्सार महसुल लाग्नेछ। त्यस्तै, भियतनाममा ३५ प्रतिशतसम्म तथा अन्य देशमा २० देखि २५ प्रतिशतसम्म महसुल लगाइनेछ।
यद्यपि, नयाँ महसुल आगामी वर्षदेखि मात्रै कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।
भन्सार महसुल भनेको विदेशबाट आयात गरिने वस्तुमा लगाइने कर हो। सामान्यतया वस्तुको मूल्यका आधारमा निश्चित प्रतिशत तोकेर यस्तो कर निर्धारण गरिन्छ। विदेशबाट सामान आयात गर्ने व्यवसायीले उक्त कर सरकारलाई बुझाउनुपर्छ।
नयाँ महसुलबाट चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत प्रभावित हुनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।