काठमाडौं। अमेरिकाले १६ देश तथा व्यापारिक समूहमा नयाँ भन्सार शुल्क लगाउने तयारी गरेपछि बुधबार एसियाली सेयर बजारमा ठूलो गिरावट आएको छ। एआई कम्पनीका सेयरमा देखिएको सुधार कमजोर हुनु र व्यापारिक तनाव बढ्ने आशंकाले लगानीकर्ताको मनोबल प्रभावित भएको हो।
जापानबाहेक एसिया–प्रशान्त क्षेत्रका सेयर बजार समेट्ने एमएससीआई सूचक २.३ प्रतिशतले घटेको छ। दक्षिण कोरियाको बजार ५.३ प्रतिशतसम्म र ताइवानको बजार ५.१ प्रतिशतसम्म ओरालो लागेको छ। जापानको निक्केई २२५ सूचक पनि २.९ प्रतिशतसम्म घटेको छ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीन र युरोपेली संघसहित १६ प्रमुख व्यापारिक साझेदारको औद्योगिक उत्पादन क्षमतासम्बन्धी अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेपछि बजारमा चिन्ता बढेको हो।
अमेरिकी बजारमा पनि एस एन्ड पी ५०० सूचक ०.५ प्रतिशत र नास्डाक १.५ प्रतिशतले घटेका छन्। त्यस्तै, एनभिडियाको सेयर ५.९ प्रतिशत र एन्थ्रोपिकको सेयर ६.५ प्रतिशतले ओरालो लागेको छ।
लगानीकर्ताको ध्यान बुधबार सार्वजनिक हुने अमेरिकी कोर व्यक्तिगत उपभोग खर्च (पीसीई) तथ्यांकमा केन्द्रित भएको छ। यसले अमेरिकी केन्द्रीय बैंकको आगामी ब्याजदर नीतिबारे थप संकेत दिने अपेक्षा गरिएको छ।
उता, अस्ट्रेलियाको सेयर बजार ०.९ प्रतिशतले घटेको छ। औद्योगिक धातुमा तामा र टिनको मूल्य पनि तीव्र रूपमा घटेको छ भने आल्मुनियम १३ महिनायताकै न्यून विन्दुमा झरेको छ।
कच्चा तेलको मूल्यमा भने उतारचढाव देखिएको छ। ब्रेन्ट क्रुडको मूल्य ०.५ प्रतिशतले घटेर प्रतिव्यारेेल ९०.९७ डलरमा कारोबार भएको छ। क्रिप्टोकरेन्सी बजारमा बिटक्वाइन १ प्रतिशत र इथर १.१ प्रतिशतले घटेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।