काठमाडौँ । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएसँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि सहमति कार्यान्वयनका लागि प्राविधिक प्रक्रिया र व्यवस्थापनका विषयमा थप छलफल आवश्यक छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले यसलाई लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धि भएको बताए । अन्तरराष्ट्रिय उडान विस्तारले पर्यटन, उद्योग, व्यापार र होटल व्यवसायलाई लाभ पुग्ने उनको भनाइ छ ।
त्यस्तै, नाट्टाका पूर्वअध्यक्ष सागर अधिकारीले भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सहज हुने बताए । उनले उडान सेवासँगै पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले भैरहवालाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।
हवाई पहुँच विस्तार भए लुम्बिनीका साथै कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक स्थलमा पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ । यसले स्थानीय होटल, यातायात, कृषि तथा सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सक्नेछ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले अपेक्षाअनुसार अन्तरराष्ट्रिय उडानको निरन्तरता पाउन नसकिरहेका बेला पछिल्लो सहमतिलाई कार्यान्वयन गर्न सके विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।