काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत जिल्ला आयुक्तको कार्यालय ललितपुरले ललितपुर महानगरपालिका–१५ स्थित भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका पाँच विकसित घडेरी बिक्री गर्ने भएको छ । प्राधिकरणले इच्छुक व्यक्ति तथा संस्थालाई शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ ।
रिङरोड तथा सातदोबाटोबाट करिब एक किलोमिटर दूरीमा रहेका उक्त घडेरी ६ र ८ मिटर चौडा सडकको पहुँचमा छन् । बिक्रीका लागि राखिएका प्लटको क्षेत्रफल ९६.४९ देखि १३२.२४ वर्गमिटरसम्म रहेको छ ।
प्राधिकरणले घडेरीको न्यूनतम मूल्य प्रतिआना ३५ लाख ९३ हजार ७०० रुपैयाँदेखि ३९ लाख ९३ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । त्यस्तै, प्रतिवर्गमिटर न्यूनतम मूल्य १ लाख १३ हजार ४४ रुपैयाँदेखि १ लाख २५ हजार ६०५ रुपैयाँसम्म तोकिएको छ ।
बोलपत्र फाराम खरिदका लागि ३ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । इच्छुक बोलपत्रदाताले आफूले कबोल गरेको कुल रकमको कम्तीमा १० प्रतिशत धरौटीसमेत जम्मा गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।