काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। यो सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाहरूले खरिद गर्न पाउनेछन्।
त्यस्तै, कम्पनीले जारी पुँजीको ११.२५ प्रतिशत अर्थात् ९ करोड रुपैयाँबराबरको ९ लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। दुवै समूहका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन मंसिर १० गतेदेखि खुला भएको छ। यो निष्कासन छिटोमा मंसिर २४ गते बन्द हुनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस १३ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने निष्कासन छिटोमा मंसिर १५ गते र ढिलोमा मंसिर २४ गते बन्द हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।