काठमाडौँ । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न ऊर्जा स्रोतको उत्पादन हिस्सा निर्धारण गरी लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) पुनः खुलाउने तयारी गरेको हो ।
नयाँ ढाँचामा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गरिनेछ । यसले मुलुकको दीर्घकालीन विद्युत् आवश्यकता र उत्पादन संरचनाको आधार तय गर्नेछ ।
हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट छ । उत्पादनमा नदी प्रवाही आयोजनाको हिस्सा बढी हुँदा वर्षायाममा विद्युत् बढी उत्पादन हुने र हिउँदमा घट्ने समस्या छ । यसलाई सन्तुलित बनाउन ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको हो ।
यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । तर सरकारले उत्पादन लक्ष्य ३० हजार मेगावाट पुर्याएपछि पुरानो ढाँचा परिमार्जन गर्न लागेको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट र ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ । त्यस्तै, एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाटको पीपीए भएको छ । थप २८१ आयोजनाका कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना सम्झौताको प्रतीक्षामा छन् ।
गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भएको थियो । त्यसपछि नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ ।
पीपीए नहुँदा निजी क्षेत्रका आयोजनाले वित्तीय व्यवस्थापन गर्न कठिनाइ भोगिरहेका छन् । विद्युत् बिक्रीको सुनिश्चितता नहुँदा बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन समस्या हुने भएकाले नयाँ ऊर्जा मिश्रणले आयोजना विकास र निजी लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ नीतिले जलविद्युत्मा निर्भरता घटाउँदै सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जालाई समेत प्राथमिकता दिनेछ । जलाशययुक्त र पम्प स्टोरेज आयोजनाबाट ऊर्जा भण्डारण तथा मौसमी माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।
३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र भारत तथा बंगलादेशतर्फ विद्युत् निर्यातको बजार विस्तार गर्नुपर्ने चुनौतीसमेत रहेको छ । नयाँ ऊर्जा मिश्रणले उत्पादन र आपूर्तिबीच सन्तुलन कायम गर्दै विद्युत् व्यापार विस्तारमा आधार तयार गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।