काठमाण्डौ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले आफैं स्कुटर चलाएर काठमाण्डौका दुई मासु कोल्डस्टोरमा छड्के अनुगमन गरेकी छन्। मासुको स्वच्छता, गुणस्तर र भण्डारणको अवस्थासँगै खाद्य सुरक्षा मापदण्डको पालनाबारे बुझ्न उनी बालाजु र सीतापाइला पुगेकी हुन्।
अनुगमनका लागि चौधरी ललितपुरको जावलाखेलस्थित क्वाटरबाट स्कुटर चलाएर निस्किएकी थिइन्। स्कुटरको पछाडि उनका सुरक्षा अधिकृत अर्थात् पीएसओ बसेका थिए।
मन्त्रीको सचिवालय सदस्य सरिता चौधरीका अनुसार उनले बालाजुस्थित भ्याली कोल्डस्टोर र सीतापाइलास्थित बुढाथोकी कोल्डस्टोरको निरीक्षण गरेकी हुन्। मंसिर १ गतेदेखि उपत्यकामा कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को पालनाको अवस्था बुझ्नु अनुगमनको उद्देश्य रहेको सचिवालयले जनाएको छ।
निरीक्षणका क्रममा मन्त्री चौधरीले मासु भण्डारण गर्ने अवस्था, सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे जानकारी लिएकी थिइन्। उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएकी छन्।
सचिवालयले जारी गरेको प्रेस नोटअनुसार मन्त्री चौधरीले मासुको गुणस्तर कायम राख्न सम्बन्धित मापदण्डको पालना आवश्यक रहेको बताएकी थिइन्।
सरकारले मंसिर १ गतेदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरका सम्पूर्ण स्थानीय तहमा पशु वधशाला तथा मासु जाँच ऐन औपचारिक रूपमा लागू गरेको थियो। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले उपत्यकाबाट ऐनको कार्यान्वयन अघि बढाइएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।