काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशत हो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो । सरकारले ऋण भुक्तानीका लागि यस वर्ष ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । रकमका आधारमा वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ र आन्तरिक ऋण १४ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकामा कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण १ खर्ब २५ अर्ब र वैदेशिक ऋण २८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
चार महिनामा ऋण भुक्तानीतर्फ सबैभन्दा बढी खर्च आन्तरिक ऋणमा भएको छ । सरकारले आन्तरिक ऋणको साँवा र ब्याज तिर्न १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।
यस अवधिमा सरकारले नयाँ ऋणबापत १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ प्राप्त गर्दा साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । ऋण परिचालन र भुक्तानीबीचको अन्तरले सार्वजनिक वित्त व्यवस्थापनमा ऋणको दबाब कायमै रहेको देखाउँछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।