बिहीबार, मंसिर १०,२०८३ 11:29:09
  • बिहीबार, मंसिर १०,२०८३ 11:29:09
Global IME Bank Limited

अन्तरिक्षमा डेटा केन्द्र स्थापना गर्ने एलन मस्कको लक्ष्य, १० लाख उपग्रह प्रक्षेपण गर्न स्पेसएक्सलाई अमेरिकाको अनुमति

Bizshala
अन्तरिक्षमा डेटा केन्द्र स्थापना गर्ने एलन मस्कको लक्ष्य, १० लाख उपग्रह प्रक्षेपण गर्न स्पेसएक्सलाई अमेरिकाको अनुमति
New Office

काठमाडौं। अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले एलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डेटा केन्द्र स्थापना गर्ने उद्देश्यले १० लाख उपग्रह प्रक्षेपण गर्न अनुमति दिएको छ। अन्तरिक्षमा यति ठूलो सङ्ख्यामा उपग्रह पठाउने योजनाले पहिलोपटक नियामक स्वीकृति पाएको हो।

‘स्टारमाइन्ड’ नाम दिइएको परियोजनाअन्तर्गत सौर्य ऊर्जाबाट सञ्चालन हुने उपग्रहहरूले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तथ्याङ्क प्रशोधन गरी नतिजा पृथ्वीमा पठाउनेछन्। स्पेसएक्सका अनुसार अन्तरिक्षमा स्थापना गरिने डेटा केन्द्र बढ्दो एआई कम्प्युटिङ माग पूरा गर्ने लागत र ऊर्जाका हिसाबले प्रभावकारी विकल्प हुन्।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यस परियोजनाले अमेरिकाको प्रविधिगत नेतृत्व र आर्थिक विकासलाई थप मजबुत बनाउने बताएका छन्। मस्कले पनि यो परियोजना अमेरिका र विश्वकै लागि महत्त्वपूर्ण उपलब्धि हुने प्रतिक्रिया दिएका छन्।

CG Motors
Garima Development Bank
IME remit

एफसीसीको अनुमतिअनुसार स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्ममा उपग्रह प्रक्षेपण सुरु गर्नुपर्नेछ। सन् २०३५ नोभेम्बरसम्ममा १० प्रतिशत र सन् २०३८ नोभेम्बरसम्ममा ५० प्रतिशत उपग्रह प्रक्षेपण गरिसक्नुपर्नेछ। कम्पनीले आगामी वर्ष नै पहिलो स्टारमाइन्ड उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ। यद्यपि, वास्तवमै १० लाख उपग्रह प्रक्षेपण गरिने हो वा त्योभन्दा बढी सङ्ख्याका लागि अनुमति मागिएको हो भन्ने स्पष्ट छैन।

स्टारमाइन्डका उपग्रह पृथ्वीबाट ५०० देखि २ हजार किलोमिटर उचाइमा रहनेछन्। तिनले स्पेसएक्सकै स्टारलिङ्क सञ्जालमार्फत तथ्याङ्क पृथ्वीमा पठाउनेछन्।

अन्तरिक्षमा डेटा केन्द्र स्थापना गर्ने अवधारणालाई गुगल र ब्लु ओरिजिनलगायत कम्पनीले पनि अघि बढाइरहेका छन्। जमिनमा डेटा केन्द्र निर्माण गर्दा अत्यधिक विद्युत् र पानी आवश्यक पर्ने तथा स्थानीयस्तरमा विरोध बढ्दै गएको अवस्थामा अन्तरिक्षलाई वैकल्पिक स्थानका रूपमा हेरिएको छ।

तर, विज्ञहरूले अन्तरिक्षमा उपकरण पठाउन लाग्ने उच्च लागत, तिनको सुरक्षा तथा तापक्रम नियन्त्रणको जटिलता र अन्तरिक्षमा बढ्दो फोहोरका कारण उत्पन्न हुन सक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन्। निम्न पृथ्वी कक्षमा उपग्रहको सङ्ख्या बढ्दा आपसमा ठोक्किने सम्भावना पनि बढ्ने उनीहरूको चेतावनी छ।

यसअघि नै १० हजारभन्दा बढी उपग्रह सञ्चालन गरिरहेको स्टारलिङ्कले अन्तरिक्षमा भीडभाड बढाएको आरोप खेप्दै आएको छ। मस्कले भने आफ्ना उपग्रहले अन्तरिक्षमा अत्यधिक स्थान ओगटेको र प्रतिस्पर्धीलाई अवरोध पुर्‍याएको आरोप अस्वीकार गर्दै आएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.