काठमाण्डौ। आन्तरिक राजस्व विभागले काठका ब्रिकेटलाई दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट दाउरा, पेलेट तथा अन्य काठजन्य वस्तुमा लागू नहुने स्पष्ट पारेको छ। एउटै शीर्षकमा समेटिएका आधारमा सबै उत्पादनले उक्त सुविधा नपाउने विभागले जनाएको छ।
आर्थिक ऐन, २०८३ बाट संशोधित मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ मा रहेको व्यवस्थाबारे विभागले सार्वजनिक सूचनामार्फत स्पष्ट पारेको हो। अनुसूचीको समूह ११ अन्तर्गत शीर्षक ४४.०१ मा समेटिएका सबै वस्तुमा नभई उपशीर्षक ४४०१.३२.०० मा उल्लेख भएका काठका ब्रिकेटमा मात्र भ्याट छुट हुने सूचनामा उल्लेख छ।
कर छुटको दायरालाई लिएर विभिन्न डिभिजन वन कार्यालय, ब्रिकेट तथा पेलेट उत्पादक उद्योग र अन्य सरोकारवालामा द्विविधा देखिएपछि विभागले यस्तो स्पष्टोक्ति दिएको हो।
शीर्षक ४४.०१ अन्तर्गत दाउरा, मुडा, चिरेका काठका टुक्रा, हाँगाबिँगा, दाउराको बिटो, काठका चोइटाचोइटी, धुलो तथा अवशेषलगायत वस्तु पर्छन्। ब्रिकेट र पेलेट पनि यही शीर्षकमा समेटिए पनि ब्रिकेटका लागि तोकिएको छुट अन्य वस्तुमा विस्तार गर्न नमिल्ने विभागको भनाइ छ।
विभागका अनुसार एउटै उपशीर्षकमा एक वा एकभन्दा बढी वस्तु तथा सेवा समेटिएका भए पनि कानुनले स्पष्ट रूपमा छुटका लागि किटान गरेका वस्तु तथा सेवाले मात्र सुविधा पाउँछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।