काठमाण्डौ। वीर अस्पतालका बिरामीलाई एक भवनबाट अर्को भवनमा लैजाँदा सडक पार गर्नुपर्ने बाध्यता हटाउन लिफ्टसहितको आकाशे पुल निर्माण गरिने भएको छ। काठमाण्डौ महानगरपालिकाले अस्पतालको नयाँ र पुरानो भवन जोड्ने गरी पुल बनाउन लागेको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गरेकी छन्। कुल ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागतमा निर्माण हुने पुल आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मुख्य सडक पर्छ। हाल मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा बिरामी लैजाँदा यही सडक पार गर्नुपर्छ। पुल र लिफ्ट सञ्चालनमा आएपछि बिरामीलाई सडकमा नओराली दुई भवनबीच ओसारपसार गर्न सकिनेछ।
पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्यासमेत सार्न मिल्ने लिफ्ट जडान गरिनेछन्। महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार दुवैपट्टि लिफ्ट र भर्याङ अस्पताल परिसरभित्रै रहने गरी निर्माण गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।