काठमाण्डौ। मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको रकम असुली प्रकरणमा अनुसन्धानको दायरामा रहेका पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेको खबर सार्वजनिक भएको छ। गृह मन्त्रालयको उच्च स्रोतलाई उद्धृत गर्दै उनी पक्राउ परेको जनाइए पनि पक्राउको स्थान र प्रक्रियाबारे औपचारिक विवरण खुलाइएको छैन।
अर्यालमाथि मलेसिया जाने कामदारबाट गैरकानुनी रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ। सोही विषयमा अनुसन्धानका लागि प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति लिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाण्डौले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। मलेसिया जाने श्रमिकसँग जोडिएको आर्थिक अनियमितता तथा विदेशी मुद्रा अपचलनको विषयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरलगायत पक्राउ परिसकेका छन्। सीआईबीले उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।